२५ कात्तिक, जनकपुरधाम । प्रदेश २ मा बसोबास गर्ने दलित समुदायले अब सहुलियत दरमा रासन पाउने भएका छन् । उनीहरुले आवश्यक खाद्यान्नहरु सहुलियत दरमा पाउने भएका हुन् ।

प्रदेश सरकारले दलित समुदायलाई सहुलियत दरमा राहत उपलब्ध गराउन रासन कार्डको व्यवस्था गर्ने भएको छ । रासन कार्ड प्राप्त भएका दलित समुदायलाई अति आवश्यक खाद्यान्न वस्तु सहुलियत दरमा उपलब्ध गराउनेछ ।

दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबार प्रदेशसभामा पारित भएसँगै दलित समुदायले अब रासन कार्ड पाउने भएका छन् । ‘विधेयक पारित भएको छ’ सामाजिक विकास मन्त्री नवलकिशोर साहले भने, ‘प्रदेश प्रमुखबाट प्रमाणिकरण भएसँगै यो कानून लागू हुनेछ ।’

दुई महिनापछि सोमबार बसेको प्रदेश २ को सभाले दलित सशक्तिकरण विधेयक पारित गरेको छ । विधेयकमा प्राविधिक शिक्षातर्फ इन्जिनियर, डाक्टर, कानून, पत्रकारिता पढ्न चाहने दलित विद्यार्थीका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख छ । स्नातक तहदेखि अध्ययन गर्ने दलित विद्यार्थीलाई शुल्क मिनाहासँगै मासिक निर्वाह भत्ता, पाठ्यपुस्तक, ट्यूसन शुल्क र पोशाक समेत प्रदेश सरकारले नै उपलब्ध गराउनेछ ।

दलितमैत्री विद्यालय निर्माणका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्ने जनाएको प्रदेश सरकारले संविधान अनुसार प्रत्येक दलित विद्यार्थीलाई प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म अनिवार्य र निशुल्क शिक्षाको कार्यान्वयन भए/नभएको अनुगमन समेत गर्नेछ ।

जातीय भेदभावलाई प्रोत्साहन गर्ने सांकेतिक भाषाचित्र प्रयोग गरिनेगरी पाठ्यपुस्तक बनाइएको भए प्रदेश सरकारले त्यसलाई हटाउन समेत पहल गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय