महोत्तरी । मटिहानी नगरपालिकामा रहेको श्रीराम उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मतीबाट मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल चयन हुनु भएको छ । सोमबार विद्यालय व्यवस्थापन समिति चयनको लागि बसेको अभिभावकहरुको भेलाले सर्वसम्मत रुपमा नगरप्रमुख मण्डललाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको श्रीराम उच्च माविका प्रधानाध्यायक अजय कुमार पाण्डेयले जानकारी दिनुभयो ।

उहाँले विद्यालय व्यवस्थापन समिति चयनको लागि बोलाइएको भेलामा अधिकाँश अभिभावकहरुले नगरप्रमुख मण्डलको पक्षमा हात उठाएर सहमति प्रदान गरेपछि नगरप्रमुख विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समेत चयन हुनुभएको जानकारी दिनुभयो । यो भन्दा अगाडी पनि सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा नगरप्रमुख मण्डल रहनुभएको थियो । उहाँको पदावधि २०७६ फागुन १३ गते समाप्त भएपछि विद्यालय अध्यक्ष विहिन रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक पाण्डेयले शिक्षा ऐन अनुसार नै नगरप्रमुख अध्यक्ष बनेको बताउनुहुदै उहाँको अनुभव र नगरप्रमुखको हैसियतले विद्यालयले थप उचाई हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । अभिभावकहरुले भनेको कुरालाई शिरोधार्य गरेर जानुपर्ने उहाँको कथन थियो ।

नेपाल भारत सिमाक्षेत्रमा रहेको मटिहानी नगरपालिका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेको ठाउँको रुपमा रहेको छ । यहाँ रामायणकालमा रामजानकीको विवाहोत्सवको लागि वेदी बनाउने कार्य (मटकोर) को लागि माटो लगिएको थियो भने वैदिक भाषा संस्कृतको आचार्य (स्नात्तकोत्तर) सम्मको पठनपाठन हुने विद्यापिठ समेत रहेको छ । नेपालकै शिक्षा क्षेत्रमा सबैभन्दा पुरानो विद्यालयको रुपमा राजकीय संस्कृत विद्यालय यही ठाउँमा रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा सर्वसम्मतीले चयन हुनुभएका नगरप्रमुख मण्डलले यस अघि प्राविधिक शिक्षातर्फ आकर्षित गर्न विद्यालयको ४० प्रतिशत तथा नगरपालिकाको ६० प्रतिशत लगानीमा विद्यार्थीहरुलाई ल्यापटप वितरण गर्नुभएको थियो ।

नगरप्रमुख विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेपछि सामाजिक सञ्जालहरुमा कतिपयले यसलाई राम्रो भनेको छ भने कतिपयले यस्तो नगर्नुपर्ने भनेर सुझाव दिएका छन् ।नगरप्रमुख नै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएपछि श्रीराम उच्च माविको पुरानो ऐतिहासिकता फर्कने गरि काम गर्न सकिने कतिपयको विचार रहेको छ भने कतिपयले निर्देशन दिएर गर्नुपर्ने काममा आफै बजेट विनियोजन गर्ने,उपयोग गर्ने तथा अनुगमन गर्ने कार्य बोझिलो हुने तर्क राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय