शम्भू पंडित/ जनकपुरधाम। जनकपुरधाममा रहेको मठिहानी मठ (लक्ष्मीनारायण मन्दिर)को जग्गा विक्री हुन लागेको छ।

जनकपुरधाम वडा नम्बर ८ स्थित बजरंग चौक नजिकै रहेको करिब ८ कठ्ठा जग्गा मठका निलम्बित मानमहन्थ जगरनाथ दास बैषणबले बिक्री गर्न लागेका हुन्।

प्रतिधुर ७ लाखको दरले विक्री हुन लागेको जग्गामा माटो पुर्ने काम भइरहेको छ।

स्थानीयबासी महेश यादवले हुलाकी न्यूजसित भने,‘जगरनाथ दासले मन्दिरको जग्गा यसअघि पनि बेचेका छन्। अहिले विक्री हुन लागेको जग्गाको नजिक मै रहेको एउटा जग्गा दिपु यादव भन्नेलाई एक सय वर्षका लागि भाँडामा दिइएको छ। त्यो जग्गामा प्रदेश २ कै सबभन्दा ठूलो रक्सीको डिलर लगाउने तयारी हुँदैछ।’

अहिले जग्गा विक्री हुन लाग्दा स्थानीयवासीहरुले विरोध गरिरहँदा स्थानीय केही गुण्डाहरुले धाकधम्की पनि दिन थालेको यादवले बताए।

‘निलम्बित महन्थ जगरनाथ दासले आफूलाई प्रहरी र अदालतमा घुस दिन पैसा आवश्यक परेकोले जग्गा बेच्न थालेको ग्राहकहरुलाई भन्ने गरेका छन्।’ यादवले भने,‘कित्ता नम्बर ३२७ को ७ कठ्ठा ८ धुर १ कनमा र कित्ता नम्बर १५९ को ९ धुर २ कनमा जग्गा जगरनाथ दासले दिपु यादवलगायतलाई बेच्न थालेका छन्।’

स्थानीयबासीहरुले गुठी संस्थानको जनकपुरधाम कार्यालय र काठमाडौंस्थित केन्द्रीय कार्यालयलाई गुहार गरेपनि कुनै प्रतिक्रिया आएको छैन।

मठिहानी मन्दिरको उक्त जग्गामा स्थानीयवासीहरुले धर्मशाला वा सार्वजनिक हितमा हुने संरचना निर्माणका लागि माग गरेका छन्।

निलम्बित महन्थ दासलाई हुलाकी न्यूजले सम्पर्क गरी जग्गा विक्री हुन लागेको विषयमा सोध्दा सबै प्रश्न सुनेर उनी आफैले भने,‘महन्थ जी अहिले बाहिर हुनुहुन्छ।’ त्यसपछि उनले फोन काटे। हुलाकी न्यूजले बारम्बार सम्पर्क गर्दा उनले फोन उठाउन छोडे।

अर्बौंको जग्गा बेचेको आरोपमा निलम्बित

विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको आरोप मानमहन्त जगन्नाथ दास निलम्बित छन्।

जगन्नाथले सरकारी जग्गा बिक्री गरेर दुरुपयोग गरेको आरोप लागेपछि छानबिनका लागि निलम्बन गरिएको गुठी संस्थानले जनाएको छ।

रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको सबा तीन अर्ब रुपैयाँ पर्ने करिब सात बिघा जमिन बिक्री गरेर हिनामिना गरेको आरोप जगन्नाथमाथि लागेको हो।

यसअघि जनकपुरको रामन्दिरको ७/८ कट्ठा जग्गा बिक्री गर्न लागेको सूचनाका आधारमा रोक्का गरिएको थियो। मठमन्दिरको जग्गा बिक्रीको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि चासो व्यक्त गरेको थियो।

जगन्नाथले मठमन्दिरका नामको जमिन आफ्ना नाममा बनाउन गुरु कौशलकिशोर दास वैष्णवलाई बाबु बनाएर नागरिकता निकालेको तथ्य फेला परेको छ। बाबुको मृत्युपछि जग्गाजमिन स्वतः छोराका नाममा जाने भएकाले जगन्नाथले कौशलकिशोरलाई बाबु बनाएर नागरिकता बनाएका हुन्।

उनले धनुषामा करिब पाँच बिघा र रुपन्देहीमा दुई बिघा जमिन विभिन्न मितिमा बिक्री गरेका छन्। २०५४ सालमा गुठी संस्थानबाट महन्त नियुक्त भएपछि वैष्णवले विभिन्न मितिमा जग्गा बिक्री गर्दै आएको हो।

महन्तलाई रुपन्देही, महोत्तरी, धनुषा, सर्लाही, सिरहा र पर्साका मठमन्दिरको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको थियो। तर, उनले विक्री गर्दै आएका छन्।हुलाकी न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय