महोत्तरी । महोत्तरीमा ‘सेमिअटोमेटिक’ पेस्तोलसहित दुईजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारतकाे सीतामढी जिल्ला, ग्राम पञ्चायत बाजपट्टीनिवासी १५ वर्षीय राजकुमार दास र सोही ठाउँ बस्ने वर्ष १९ का मुकेशकुमार मण्डल रहेको सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

दुई राउन्ड लोडेड गोलीसहित हतियार फालेर भाग्न खोजेको समूहमध्येबाट सशस्त्र प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीका अनुसार समूहका अन्य भने भाग्न सफल भएका छन् ।

मनरा सिस्वा नगरपालिका– मरुवाहीमा मदिरा भट्टीमा स्थानीय केही व्यक्तिहरूसँग भनाभन भएपछि सोही भनाभनपछि कुटपिट भएको र पछि उनीहरू भाग्न खोज्दा एक राउन्ड हवाईफायरसमेत गरेको स्थानीयले बताए ।

राति करिब ८ बजे भएको उक्त घटनाकै क्रममा स्थानीयहरूले सशस्त्र प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको बिओपी मरुवाहीको सशस्त्र प्रहरीको मोबाइल टोलीले भाग्दै गरेको अवस्थामा सीमानजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूसँग ‘सेमिअटोमेटिक पेस्तोलमा लोड भएको दुई राउन्ड ७.६५ एमएम को गोली, एक स्प्रिंग चक्कु (डाइगर), मोबाइल र पर्स सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूलाई अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक सापकोटाले बताए ।

पक्राउ परेका मध्य दुईजनाले पेस्तोल र चक्कु आफुहरूको नभएको र अन्यले नै फालेर भागेको बताए । उनीहरूले आफूहरू लेबरको काम गर्ने भएको र नयाँ वर्षमा मदिरा सेवन गर्न नेपाल छिरेको बताए । तर, स्थानीयले सशस्त्रले बरामद गरेको हतियार उनीहरूकै भएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय