जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १ स्थित रमतेल डाँडाको सामुदायिक वन क्षेत्रको २२ कठ्ठा ११ धुर जग्गा विक्री भएको रहस्य खुलेको छ ।

वन क्षेत्रका रुख धमाधम काटिन थालेपछि सार्वजनिक जग्गा कहिले व्यक्तिको नाममा नामसारी वा विक्री भयो भन्दै स्थानीय चकित बनेका छन्। स्थानीयले वनको सार्वजनिक जग्गा सम्बन्धीत निकायहरुले भूमाफियासँग पैसाको चलखेल गरी व्यक्तिको नाममा नामसारी गरेको आरोप लगाएका छन्।

केहिदिन यता रमतेल वन धमाधम वन फडानी हुन थालेपछि उक्त वन क्षेत्रको सार्वजनिक जग्गा विक्री भएको खुलेको हो।

बर्दिबास नगरपालिका–१ का स्थानीय समेत रहेका जग्गा व्यवसायी कृष्णप्रसाद गौतम र लीलामणी आचार्यले वनको १ विघा २ कठ्ठा ११ धुर जग्गा बर्दिबासकै रामसेवक महतोसँग चारवर्ष अघि नै खरिद गरेको बताएका छन्।

सार्वजनिक वनको सयौं रुख व्यवसायीले काटिसकेका छन्। केही सालाका रुख पनि काटिएका स्थानीयले बताएका छन् । सो वन क्षेत्रको काठ काट्न जिल्ला वन कार्यालय र वर्दिबास नगरपालिका कार्यालयले स्वीकृति दिएको छ।

नापी कार्यालय र मालपात कार्यालयले जग्गा छुट्याएको हो । फडानी भएको जग्गा व्यक्तिको नभएर वन क्षेत्र रहेको भएको स्थानीय टिकाध्वज खड्काले दावी गरे।

स्थानीयले सार्वजनिक जग्गा कसरी विक्री भयो भन्ने विषया छानविन गरी दोषीमाथि कारबाह गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। स्थानीयले बर्दिबास नगरपालिका १ कार्यालयमा मंगलबार ज्ञापन समेत बुझाएका छन्।

सो जग्गा विषयमा विवाद चुलिएपछि काटिएको काठ उठाउन वडा कार्यालयले रोक लगाएको तथा पुनः जग्गाको नापी गर्न सम्बन्धित निकायमा पत्रचार गरेको वडाध्यक्ष चुडामणी पोखरेलले जानकारी दिए।

यता जग्गा धनी गौतमले रिसोर्ट खोल्न आफुले किनेको जग्गा भित्र रहेको गैरकानुनी बाहेकका काठ सम्बन्धित निकायाबाट अनुमति लिएर काटान गरेको दाबी गरे।

‘चारवर्ष अघि हामी ६ जना मिलेर २२ कठ्ठा ११ धुर जग्गा किनेका थियौँ। तर हाम्रो नक्सामा अढाई विघा जग्गा पर्छ । रिसोर्ट खोल्नको लागि हामीले सम्बन्धीत निकायबाट सिफारिस र स्वीकृति लिएर काटेका छौं । त्यो हाम्रो नम्बरी जग्गा हो,’ व्यवसायी गौतमले भने।

जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले लालपुर्जा अनुसारको जग्गा वन कार्यालय, मालपातो कार्यालय र नापी कार्यालयले नापी गरी छुट्याइदिएको बताए।

‘उक्त जग्गा कहिले नम्बरी भयो हामीलाई थाहा छैन । लालपुर्जा लिएर आएपछि हामी मालपोत र नापी कार्यलयसँग बुझेर ती कार्यालयको प्रतिनिधिसहित गएर नापेर छुट्याइ दिएका छौं।’ वन प्रमुख साहले भने‘, ‘यदि उक्त जग्गामा भएको सालका रुखहरु पनि काटेका छन् भने हामी कारबाही गर्छौ।’

बर्दिबास नगरपालिका १ भव्सी खोलाको पूर्व र हातिमारा खोलाको पश्चिम दक्षिण दोभानमा रहेको ३० विघा क्षेत्रफलको रमतेल डाँडा वि.स. २०२२ सालमा फडानी भएको थियो । वि.स.२०४३ सालमा वृक्षारोपन गरिएको थियो। तर सो जग्गा ३८ सालमै व्यक्तिको नाममा नामसारी भएर नम्बरी रहेको देखिएको छ।

चारैतिर वन भएको ऐलानी जग्गा नम्बरी र बेचविखन हुनुमा मालपोत कार्यालय, नापी कार्यालयले चलखेल गरेको स्थानीयको आरोप छ।

यता बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुर कार्कीले केहिदिन अघि मात्र आफुले वन फडानी भइरहेको जानकारी पाएपछि त्यसको निरीक्षण गरेको बताए।

‘वन फडानी भइरहेको थाहा पाएपछि मैले आफैँ गएर निरीक्षण गरे । मैले मालपोत नापी कार्यालयमा बुझ्दा २२ कठ्ठा ११ धुर जग्गा नम्बरी देखिन्छ,’ मेयर कार्कीले भने, ‘तर, बढी जग्गा कब्जा गरी वन फडानी गरेको नापीबाट प्रमाणित हुन्छ भने कानुन बमोजिम कारबाही गर्छौ। याे समाचार नेपाल खबरमा शैलेन्द्र महतोले लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय