सप्तरी । तीस वर्षीया महिलालाई ठगी र बलात्कार गरेको आरोपमा सप्तरीका एक जनालाई सोमबार १० वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ लोखरमका ४० वर्षीय मनोजकुमार मेहतालाई १० वर्ष कैद सजायको फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

गुप्ता त्यतिबेला राजपा नेपाल सप्तरीका कोषाध्यक्ष थिए ।

अभियुक्तलाई जबर्जस्ती करणीमा सात वर्ष कैद र ३० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

यसैगरी ठगीमा तीन वर्ष कैद र ३० हजार रूपैयाँ जरिमाना तिराउने फैसला भएको छ ।

पीडितले दाबी गरेकोमध्ये ठहर भएको एक लाख ९५ हजार रूपैयाँ बिगो भराई पाउनेसमेत फैसला भएको बुढाथोकीले जानकारी दिए ।

अभियुक्तले विसं २०७५ असोज १९ गते बलात्कार गरेको भन्दै पीडितले २०७५ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन् ।

ठगी तथा बलात्कारको आरोपमा आरोपितलाई पक्राउ गरी ठगी तथा बलात्कारको छुट्टाछुट्टै उजुरीमा कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका पीडितका श्रीमान्लाई छुटाइ दिने प्रलोभन देखाई मेहताले पटक–पटक ठगी गर्नुका साथै राजविराज नगरपालिका–४ स्थित अशोक लजमा लगेर बलात्कार गरेका थिए ।

पीडितका अनुसार थुनामा रहेका श्रीमान्लाई छुटाइदिने भन्दै अभियुक्तले २०७५ वैशाख ७ गते साढे एक लाख, असार २९ गते चार लाख, साउन १४ गते तीन लाख, भदौ २२ गते २० हजार र भदौ २९ गते एक लाख ७५ हजार गरी १० लाख ४५ हजार रूपयाँ ठगी गरेका छन् ।

जिल्ला अदालतको आदेशमा २०७५ पुस १२ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय