• रबिन्द्र प्रजापति

रौतहट । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ।आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल कसरी अघि बढ्ने विषयमा छलफलमा जुटेको छ।

आज काँग्रेस, जसपा र नेकपा तीनै दलको केन्द्रीय समिति बस्दैछ। बैठक भावी दिनमा कसरी अघि बढ्ने भनी पार्टीको साझा धारणा तयका लागि भएको उनीहरुले जनाएका छन्। बैठकपछिको निर्णयलाई अंगीकार गर्दै ओलीको कदमको विरोधका कार्यक्रम तय गरिने सोमवार सानेपामा बसेको तीन दलको बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।

आइतबार मन्त्रिपरषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरिएको भन्दै कडा प्रतिवाद गर्ने यसअघि नै बताइसकेको छ। सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ओली नेतृत्वको सरकारले अधिनायवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट संवैधानिक व्यवस्था प्रतिकुल प्रतिनिधिसभा विघटन गरेको ठहर गरेको थियो। उक्त बैठकले नेकपा र सरकारका कारण उत्पन्न असहज परिस्थितिमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्‍याउन आफ्ना सबै प्रयत्न केन्द्रित गर्ने निर्णय गरेको थियो।

पछिल्लो पटक उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले हिजो सर्वदलीय बैठकसमेत बोलाएको थियो। बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायत सहभागी थिए। बैठकमा कसरी सरकारको प्रतिवाद गर्ने भन्ने छलफल भएको थियो। साथै बैठकमा सरकारविरुद्धको संघषदेखि निर्वाचनसम्म पनि सहकार्य गर्नेबारे नेकपा नेताहरुले कांग्रेससँग प्रस्ताव राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय