जसपा समर्थित वडाध्यक्ष लगायतका कार्यकर्ताहरु धर्नामा बसेर नगर परिषदको विरोध

जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिकामा जनता समाजवादी पार्टीले विभिन्न माग राख्दै नगरपालिकाकाे अगाडि धर्ना दिएका छन् ।

जनता समाजवादी पार्टी समर्थित नेता तथा कार्यकर्ताहरुले नगरपालिकाको अगाडि बसेर विरोधमा धर्ना दिएको हो । सोमबार बिहान ११ बजेदेखि नै जसपाका जिल्ला अध्यक्ष पशुपति यादवको नेतृत्वमा दर्जनौ नेता तथा कार्यकर्ताहरु नगरपालिकाकाे अगाडि धर्नामा बसेका हुन ।

कमला नगरपालिकामा भ्रष्टाचार भएको भन्दै जसपा समर्थित वडाध्यक्ष, वडासदस्य तथा कार्यकर्ताहरु धर्नामा बसेर नगर परिषदको विरोध समेत गरेको थियो ।

उनीहरुले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्मको आम्दानी र खर्चको हिसाब, कोरोना महामारीमा भएको सम्पूर्ण खर्चको हिसाब, समाजिक सुरक्षाभत्ता दलित, अपाँग, जेष्ठ नागरिकहरुलाई अबिलम्ब वितरण गर्नुपर्ने, भ्रष्टाचार र अनियमितिता बन्द गर्नुपर्ने तथा कानुन विपरित नगरसभा बन्द गर्नुपर्ने लगायतका मागहरु राखी धर्नामा बसेका हुन् ।

सो क्रममा जसपा जिल्ला अध्यक्ष पशुपति यादवले कमला नगरपालिकाका नगर प्रमुख र प्रशासकीय अधिकृत मिलेर नगरपालिकालाई भ्रष्टाचारको अखाडा बनाएको आरोप लगाए । उनले सबै हिसाबकिताब पारदर्शी नगरेसम्म धर्ना जारी राख्ने बताए ।

सोही क्रममा धर्ना दिन कमला नपा पुगेका प्रदेश साँसद शैलेन्द्र यादवले नेपाली काँग्रेस र नेकपा मिलेर भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले आम नागरिकहरुको चाहना र ईच्छा बमोजिम नभएर गैर कानुनी रुपमा विकास निर्माणको नाममा भ्रष्टाचार गरेको आरोप लगाए ।

धर्ना कार्यक्रमका बोल्दै वडा नं. ६ का ईसराफिल अन्सारीले आफूलाई नियतवश कोरोना कालमा क्वारेन्टाइन गरेको आरोप लगाउँदै कोरोनाको नाममा व्यापाक भ्रष्टाचार गरेको आरोप लगाए । कपडाको पालले मात्र घेराबन्दी गरेको क्वारेन्टाइनको खर्च ७ लाख रुपैयाँ भनेर सार्वजनिक गरेपछि भ्रष्टाचार भएको आरोप उनले लगाए ।

धर्ना कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव, वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नं. ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नं. ८ का वडाध्यक्ष राजेश्वर मरिक यादव लगायत वडासदस्य तथा जसपा समर्थित युवाहरुको सहभागीता रहेको थियो ।

वडाध्यक्षहरुले नगरपालिकामा भ्रष्टाचार भएको भन्दै विगत ३ वर्षको सम्पूर्ण हिसाबकिताब सार्वजनिक नगरेसम्म धर्ना र विरोधका कार्यक्रमहरु जारी राख्ने अडानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय