• रबिन्द्र प्रजापति

रौतहट । रौतहटमा अरुलाई फसाउन आफ्नो अपहरणको नाटक गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा जिल्लाको गढीमाई नगरपालिका–९ इर्नर्वाटोल बस्ने २८ वर्षीय सञ्जिव पासवान र उनका भाई २३ वर्षीय राजिव पासवान रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार दाजु सञ्जिव आफ्नै घरको कोठाभित्र सुतिरहेको अवस्थामा अपहरणमा परेको भनेर भाई राजिवले शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा फोन गरेर जानकारी दिएका थिए

उनले सो कार्यालयमा फोन गरेर सोही स्थानमा बस्ने जितु पासवानसहित मुखमा माक्स लगाई आएका ४/५ जना पुरुषको समूहले घर ढोकामा लगाएको बाँसको टाँटीको डोरी काटी घरभित्र प्रवेश गरी दाईको अपहरण गरी लगेको जानकारी दिदै उद्दारका लागि याचना गरेका थिए ।

घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय गरुडाको टोली घटनास्थमा पुगेर अनुसन्धान सुरु गरेको थियो ।

घटनास्थलको प्रकृति हेर्दा अपहरण जस्तो नदेखिएकाले थप गहिराई पुगेर अनुसन्धान गर्दा पासवान अपहरणमा परेको नभएर अरुलाई दुःख दिने उद्देश्यले केवल नाटक मात्र गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावले जानकारी दिए ।

उनका अनुसार अपहरणको नाटक गर्ने सञ्जिव पासवानको केही महिना अगाडि स्थानीय गोबिन्द पासवानसँग कुटपिट हुँदा पञ्चायतीको निर्णय अनुसार सञ्जिवले गोबिन्दलाई ३० हजार तिर्नुपर्ने भएकाले उक्त रकम नतिर्नका लागि र गोबिन्दको परिवारलाई दुःख दिने उद्देश्यले अपहरणको नाटक गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ

प्रहरीले उनलाई घर नजिकैको धान खेतमा दुबै हात बाँधेको अवस्थामा फेला पारेको थियो । ‘हामीले उनीहरुलाई किन अनावश्यक रुपमा प्रहरी र अरुलाई दुःख दिन नाटक गरेको भनेर सोध्दा उल्टै हामीसँग वादविवाद गरी अश्लिल शब्द प्रयोग गरेर गाली गलौज गरेपछि पक्राउ गरेका हौँ’, प्रहरी नायव उपरीक्षक रावलले भने, ‘उनीहरु स्वयमले आफूहरुले प्रहरीलाई झुक्यानमा पारी दुःख हैरानी दिएको हुँ भनेर स्वीकारेका छन् ।’

नियन्त्रणमा परेका दुवै जनालाई प्रहरीको काम कर्तव्यमा बाधा अवरोध पु¥याई अशान्ति मचाई अभद्र व्यवहार गरेको हुँदा अभद्र व्यवहार कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट ७ दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालय गरुडाको न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय