जनकपुरधाम । यस्तै बेवास्ताका कारण अस्तित्व नै सकिने गरी अतिक्रमणमा परेको छ जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछी।

भनिन्छ, बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड! जनप्रतिनिधिलाई नै ऐतिहासिक सम्पदा संरक्षणमा चासो नभएपछि अरुलाई के वास्ता?

जनकपुरधाम- दीपावलीका दिन जनकपुरधाम बजार रंगीचंगी पारिएको थियो। घर, पसल र व्यावसायिक प्रतिष्ठानका मुख्यद्वारमा केराको बोट राखेर स्वागतद्वार बनाइएको थियो।

ती केराको बोट ऐतिहासिक स्थल तिरहुतिया गाछीमा थुपारिँदा त्यहाँको सौन्दर्य बिग्रिएको छ यति बेला।

पहिला त्यहाँ रुखैरुखले भरिभराउ थियो। त्यसैले सो स्थललाई तिरहुतिया गाछी भनिएको हो। अहिले यहाँ एउटा इमलीको रुखबाहेक केही छैन। यहाँ उपमहानगरपालिकाले नै माटो र ग्राभेल थुपार्दै आएको छ।

पौने चार बिघा क्षेत्रफलमा फैलिएको तिरहुतिया गाछीको अस्तित्व जोगाउन सम्बन्धित निकाय गम्भीर नहुँदा कुरुप बन्दै गएको तिरहुतिया गाछी संरक्षण अभियानमा लागेका अमरचन्द्र अनिलले बताए।

जनकपुर उपमहानगरपालिका ४ स्थित यो ठाउँ संरक्षण नहुनुमा केही नेता र व्यापारीको दबाब रहेको स्थानीयवासीको आरोप छ।

कुनै बेला विद्यापति चोक, कदम चोक, शुक्रबारी हाट, राम चोकसम्म तिरहुतिया गाछी फैलिएको थियो।

जिल्ला अदालत, पुनरावेदन अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्र बैंक, महेन्द्रनारायण निधि सांस्कृतिक संग्रहालय लगायत विभिन्न कार्यालय यसै तिरहुतिया गाछीको जग्गामा निर्माण गरिएको छ।

२०६७ सालमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यो क्षेत्र जोगाउन पर्खाल र प्रवेशद्वार बनाइयो। तर, प्रवेशद्वार खुला रहेका कारण फोहोर फाल्ने ठाउँमा परिणत भयो। नजिकका बस्तीबाट गाईबस्तु चराउन थालियो।

पाँच वर्षअगाडि केही समाजसेवीको अगुवाइमा तिरहुतिया गाछी जोगाउने प्रयास नगरिएको होइन। सर्वदलीय बैठक गरी अमरचन्द्र अनिलको संयोजकत्वमा तिरहुतिया गाछी उद्यान संरक्षण समिति गठन गरियो।

त्यस बेला जिल्ला वन कार्यालयबाट दुई लाख र उपमहानगरबाट डेढ लाख रुपैयाँ उद्यान संरक्षण समितिलाई उपलब्ध गराइएको थियो।

‘सानो रकमबाट हामीले संरक्षण सुरु गरेका थियौं’, समितिका संयोजक अनिलले भने, ‘दिसापिसाबले अति नै फोहोर भएको उद्यानलाई दिनरात लगाएर सफा गर्‍यौं। विभिन्न व्यक्तिको सहयोगमा माटो हाल्ने कामका साथै बिरुवा पनि रोपियो।’

२०७३ मा पनि वन कार्यालयले संरक्षणका लागि ६ लाख र उपमहानगरले १० लाख रकम उपलब्ध गराएका थिए। केही राजनीतिक दल तथा व्यापारीहरुको अवरोधका कारण थप काम अगाडि बढ्न नसकेको अनिल बताउँछन्।

ऐतिहासिक स्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्न पटकपटक नगरको बोर्ड बैठकमा आवाज उठाए पनि कोही गम्भीर नभएको वडाध्यक्ष सुदर्शन सिंह बताउँछन्।

उपमहानगरपालिकाको आफ्नो ल्यान्डफिल्ड साइट नरहेका कारण यस्तो समस्याको उत्पन्न भएको सिंहको भनाइ छ।

ल्यान्डफिल्ड साइट बनाउन बसबिट्टीमा ग्लोबल अर्थ क्लिनिङ नामक गैरसरकारी संस्थाले दुई बिघा जग्गा लिजमा लिएर उपमहानगरसमक्ष प्रस्तावसमेत पेस गरेकोे थियो।

उपमहानगरका प्रमुुखले चासो नदिएकाले काम अगाडि बढाउन नसकिएको ग्लोबल अर्थ क्लिनिङका दीपु ठाकुरले बताए।
ठाकुरले भने, ‘तर नगर प्रमुख लालकिशोर साहले टार्दै गएपछि अहिलेसम्म प्रस्ताव कागजमै सीमित छ।’

उनका अनुसार यसका लागि त्यो संस्थाले डीपीआरसम्म तयार भइसकेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय