• नितेश यादव

जनकपुरधाम, मंसिर १ गते । कोरोना महामारीबीच धनुषामा प्रहरीकै निगरानीमा ‘आर्केष्ट्रा डान्स’ नचाउने भएको छ ।

धनुषाको मिथिला नगरपालिका ५ स्थित श्रीपुरमा लक्ष्मी पूजाको अवसरमा स्थानीय युवाहरूको पहलमा आयोजना गरिएको ‘आर्केष्ट्रा डान्स’ मा इलाका प्रहरी कार्यालय ढल्केवरका भ्यान सहितको टोली पुगेर स्टेजको छेउमै बसेर अश्लील गीतमा ‘आर्केष्ट्रा डान्स’को आनन्द लिरहेको देखिएको हो ।

आइतबार राति श्रीपुरमा इलाका प्रहरी कार्यालय ढल्केवरका ना १ झ १२११ नम्बरको प्रहरी भ्यानमा असई आर.के सिंहसहितको टोली मेलामा पुगि आर्केष्ट्रा डान्स गराइरहेका थिए ।

‘प्रहरी जनताको रक्षक हुन्छ तर, यहाँ कोरोना महामारीको बेलामा पनि प्रहरीले स्वयं आयोजकबाट पैसा खाएर आर्केष्ट्रा डान्स गराएको छ’, एक स्थानीय युवकले भने,’यसले गाउँमा कोरोनाको जोखिम अझ बढ्ने छ, यसमा पुरै दोषी इलाका प्रहरी कार्यालय ढल्केवर रहेको छ ।’

प्रहरीको सेटिङमा जताततै यस्ता घटना हुनु कुनै नौलो कुरा होइन तर आइतबार राति श्रीपुरमा ढल्केवर प्रहरीको टोली आफैं पुगेर नाच गराइरहेको र प्रहरी मुकदर्शक बनेर अश्लील गीतमा नाच देखिरहेका थिए ।

कोरोना महामारी कोभिड-१९ संक्रमणको विद्यमान स्थितिलाई मध्यनजर गर्दै बुधबार जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकबाट दीपावली (तिहार) र छठ पर्वहरुमा देउसी भैलो तथा जुवा/तास नखेल्न, खोला नदी तथा पोखरीहरु भित्र नपसी, कुनै किसिमको मेलाको आयोजना र भिडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा भौतिक दूरी कायम गरी छ्ठ पर्व मनाउन निर्णय गरेपनि धनुषाका ग्रामीण परिवेशमा त्यसको लागू भएको देखिएको छैन ।

यता, इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्चार्ज तथा प्रहरी निरीक्षक तीर्थबहादुर कार्कीले भ्यानसहितको टोली पुगेर आर्केष्ट्रा डान्सलाई संरक्षण गरेको विषयमा अनभिज्ञता जनाएका छन् ।

उनले भने, ‘मलाई यो विषयमा जानकारी छैन । कसैले मलाई रिपोर्ट पनि गरेको छैन । न कसैले केही भन्या छ । म बुझेर भन्छु ।’

इलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरीसहितको टोली मेलामा गएर नाचगान गराएको जिज्ञासामा यो विषयमा कसैले मलाई केही भन्या छैन, म बुझ्छु के रैछ, बिस्तृत बुझेर भन्ने प्रहरी निरीक्षक कार्कीले बताए । सभार टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय