जनकपुरधाम, कार्तिक १३ गते । महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुखकै संलग्नतामा सांघातिक आक्रमण गराइएको घटना बाहिरिएको छ । सो सांघातिक आक्रमणमा परी ३ जना घाइते समेत भएका छन् ।

मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा विजय दशमीका राति भएको सो सांघातिक आक्रमणमा परी ३ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका नेकपाको प्रत्याशी मटिहानी नगरपालिका वडा नम्बर ८का ५७ वर्षिय विजय चौधरी,, मटिहानी नगरपालिका वडा नम्बर ८का ४८ वर्षिय जितेन्द्र चौधरी र मटिहानी नगरपालिका वडा नम्बर ७का ५३ वर्षिय गणेश प्रसाद साह रहेका छन् ।

घाइते भएकाहरु मध्ये विजय चौधरी दुई दिनको उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको अवस्था गम्भिर रहेकोले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भई रहेको छ ।

गत कार्तिक १० गते विजय दशमीका राति मटिहानी नगरपालिका वडा नम्बर ७स्थित दुई पक्ष बिच विवाद भयो । विवाद उग्र रुप लिन थालेपछि घटनालाई साम्य पार्न प्रहरीको टोली बिच बचाव गर्न पुगेको थियो ।
बिचबचावका लागि पुगेको प्रहरीको टोली माथी नै हातपात भएपछि लाठी चार्ज गरेको स्थानीयहरुले बताएका छन् । लाठीचार्जमा परी दूबै पक्षका व्यक्तिहरु घाइते भएको स्थानीयले बताए पनि प्रहरीले भने अनभिज्ञयता प्रकट गरेको छ ।
घाइते मध्येका एक विजय चौधरी दुई दिनको उपचारपछि घर फर्कि सकेका छन् । उनका अनुसार नगर प्रमुख हरि मण्डलकै उपस्थिति तथा प्रत्यक्ष संलग्नतामा यो सबै घटना भएको आरोप लगाएका छन् ।
चौधरीले नगरप्रमुख मण्डल पक्षधर र अर्को गुट बिच विजय दशमीका राति ९ बजे भएको विवादको क्रममा प्रहरीको लाठीचार्जमा परी दुबै पक्षबाट केही व्यक्ति घाइते भएको बताए ।
उनले भने ‘घाइते भएका व्यक्तिहरुलाई सान्त्वना दिन सोही राति साढे १० बजे पुगेको थिएँ, सान्त्वना दिएर फर्किदै गर्दा हामी माथी नगर प्रमुख मण्डलको उपस्थितिमा सांघातिक आक्रमण भयो ।’
उनले अगाडी भने ‘घटनास्थलबाट घर फर्किदै गर्दा नगर प्रमुख सहित २०÷२५ जनाको समूहमा गाडीबाट आएर एकाएक गालामा थप्पड लगाए, नहुँदै शैलेन्द्र मण्डल भन्ने व्यक्तिले मेरो घाँटीमा छूरा प्रहार गरे ।’ तर छूरा घाँटीको छेउमा मात्रै लागेकोले आफू अहिले सुरक्षित रहेको उनले बताए ।
तर बाँकी दुई जनाको शरिरको कयौँ भागमा छुरा प्रहार भएकोले उनीहरुको अवस्था सिकिस्त रहेको चौधरीले बताए ।
नगरप्रमुखसंग तपाईको कुनै व्यक्तिगत रिसीबी थियो कि प्रश्नमा चौधरीले आफू राजनीतिक व्यक्ति भएकोले कुनै पनि प्रकारको व्यक्तिगत रिसीबी नरहेको बताए ।
तर केही दिन यता नगरमा भएको विकास तथा कामहरुको प्रगती बारे वडा वडामा गएर जागरण अभियान चलाएकोले नगर प्रमुखको मोनमा डरले घर बनाएको हुन सक्ने र गुण्डा लगाएर आक्रमण गराउन लगाएको आरोप लगाए ।
मटिहानी नगरपालिकाका प्रमुख मण्डलको संलग्नतामै केही व्यक्तिमाथी भएको सांघातिक आक्रमणलाई लिएर कडा आलोचना भई रहेको छ । यद्यपि सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको नगर प्रमुख मण्डलले दावी गरे ।
उनले आफ्नो पक्ष र अर्को पक्षबिच विवाद भएको स्वीकार गर्दै घटनामा कुनै संलग्नता नरहेको बताए ।
उनले भने ‘नगरमा भएको सो घटनामा आफ्नो संलग्नता नरहेपनि विपक्षीहरु राजनीतिक प्रतिशोधका कारण आफ्नो नाम उचालिरहेका छन् ।’
अगाडी भने ‘उल्टै मेरै पक्षका ६ जना घाइते भएका छन्, अनि मेरै उपस्थितिमा सांघातिक आक्रमण गराइएको भन्नु हास्यास्पद रहेको छ ।’
नगर प्रमुख मण्डलले दुई पक्ष बिच हात हालाहाल मात्रै भएको तर छूरा प्रहार भएको कुरोमा कुनै सत्यता नरहेको दावी गरे ।
उनले भने ‘सांघातिक आक्रमण भएको कुरो झुठो छ, घटनामा न मेरो उपस्थिति छ, न कसैमाथी छूरा प्रहार कसैमाथी भएको छ ।’
यता मटिहानी नगरपालिकामा भएको सो घटनाको ढाकछोप गर्न प्रहरी नै सक्रिय देखिएको छ । विवाद मिलाउने क्रममा केही प्रहरीहरु नै घाइते भएको कुरो बाहिरिएपनि प्रहरीले भने अनभिज्ञयता प्रकट गरिरहेको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिका बहादुर केसीसंग घटनाबारे जानकारी लिन खोज्दा घटना बारे अनुसन्धान भईरहेको बताए ।

घटना भएको ३ दिन भई सक्दा समेत अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । न्युज सभार द सौर्य मिथिला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय