जनकपुरधाम । जनकपुरधाम स्थित यातायात कार्यालयको बेथिति उदांगिएको छ । त्यहाँ कति सम्म असुरक्षा भने कुराको उदाहरणको आजको यो सन्दर्भ । प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरधामको मुजेलिया स्थित कार्यालयको स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स)हरु धान खेतमा फालिएको अवस्थामा फेला परेको हो ।

यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा भेटिए पछि आश्चर्य प्रकट गरिएको छ । धान काट्न गएका महिलाहरूले सो लाइसेन्सहरु फेला पारेका हुन् । उनीहरुले लाइसेन्सहरु संकलन गरेर यातायात कार्यालयको नै जिम्मा लगाइ दिएका छन् । ‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स देख्यौं,’ एक महिलाले भनिन्, ‘ती सबै लाइसेन्स संकलन गरेर यातायातका कर्मचारीलाई दिएका छौं ।’

यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ । यातायात कार्यालय जनकपुरधामका अधिकृत विरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै ३ सय थान जति लाइसेन्स मात्रै भेटिएको बताए । कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने बताउँदै उनले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको बताए ।

यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ । दलाल र बिचौलियाहरु लाइसेन्ससहितका कागजात बोकेर आफूखुसी ओहोरदोहोर गर्दै आए पनि यातायात कार्यालयका कर्मचारीहरु मुकदर्शक बन्ने गरेको सेवाग्राही बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय